सुदूर नेपाललाई विश्वसँग जोड्दै

सक्रिय भएनन् स्थानीय तहका न्यायिक समिति

२०७४ फाल्गुन ११, ०८:५९

स्थानीय तहको निर्वाचन भएको लामो समय भइसक्दा पनी अछाममा स्थानीय तहमा गठन भएका न्यायिक समितिको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । अधिकांश स्थानीय तहमा गठन भएका न्यायिक समितिमा उजुरी आउने क्रम निकै सुस्त छ । कतिपय नागरिक न्यायिक समितिबारे पनि बेखबर छन् भने न्यायिक समितिले गर्ने न्याय निरुपणका कामबारे पनि नागरिकदेखि जनप्रतिनिधिसमेत अनभिज्ञ रहेका छन् ।

जिल्लाका सबैजसो स्थानीय तहका न्यायिक समितिमा उजुरी निकै नगण्य रुपमा मात्रै आएका छन् । जिल्लाको साँफेबगर नगरपालिकाको न्यायिक समितिमा हालसम्म एउटा मात्रै उजुरी दर्ता भएको नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक वीरमला बुडथापाले बताउनुभयो । छोडपत्रसम्बन्धी उजुरी भएकाले समन्वय भइरहेको तर फछ्यौट हुन भने बाँकी रहेको उनको भनाइ छ ।

यस्तै, मेल्लेख गाउँपालिकाको न्यायिक समितिमा पनि दुईवटा जग्गासम्बन्धी उजुरी दर्ता भएर न्याय सम्पादन भइसकेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो । अन्य गाउँ तथा नगरपालिकामा पनि न्यायिक समिति निष्क्रिय नै रहेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएको लामो समय भइसक्दा पनि न्यायिक समिति सक्रिय हुन नसक्नुका पछाडि यस सम्बन्धी कार्यविधी नहुनु प्रमुख कारण भएको अधिवक्ता खडकबहादुर खड्काको भनाई छ । अधिकांश स्थानीय तहमा उपप्रमुख महिला नै भएको र जनप्रतिनिधिलाई कानूनसम्बन्धी आवश्यक जानकारी नहुँदासमेत समस्या आएको उहाले बताउनुभयो ।

रासस

कमेन्ट लोड गर्नुस