सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलाको मृत्युपछि महाकाली अञ्चल अस्पताल तनाबग्रस्त

२०७४ फाल्गुन १९, ०१:५४

महाकाली अञ्चल अस्पतालमा उपचारका लागि ल्याईएकी एक महिलाको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । शुक्रबारराति १२ बजे उपचारका लागि ल्याईएकी भीमदत्त नगरपालिका ११ भुजेलाकी ४० वर्षिया कलावती सार्कीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो । अस्पतालको लापरबाहीका कारणले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तजनले दोषिलाई कारबाही र मृतकलाई क्षतिपूर्तिको माग राख्दै विरोध गरिरहेका छन् । राति १२ बजे ईमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएपनि डाक्टर बिहान ५ बजे मात्रै पुगेको मृतकका परिवारको आरोप छ । डाक्टर पुगेर चेकजाँच गरिसकेपछि मृत घोषणा गरेका हुन् ।

समयमा बिरामीलाई हेर्न डाक्टर नपुगेका कारणले बिरामीको मृत्यु भएको भन्दै परिवारजनले लापरबाही गर्ने माथि कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । मृतक महिलाको शव महाकाली अञ्चल अस्पतालमै राखिएको छ । परिवारजनले घट्नाको छानविन नभएसम्म शव पोष्टमार्टम समेत नगर्ने र शव पनि नबुझ्ने अडान राखेका छन् । अहिले महाकाली अञ्चल अस्पताल बाहिर मृतकका परिवार र आफन्तहरु ठूलो संख्यामा अस्पताल बाहिर भेला भएका छन् । अप्रिय घट्ना हुन नदिन प्रहरी परिचालन गरिएको छ ।

फागुन १३ गते पाठेघरको अप्रेशनका लागि कलावतीलाई अस्पताल भर्ना गरिएको थियो । उनको पाठेघरको अप्रेशन पश्चात १६ गते डिस्चार्ज गरिएको थियो । शुक्रबार अप्रेशन गरिएकी कलावतीको स्वास्थ्यमा समस्या देखिएपछि राति उपचारका लागि भन्दै महाकाली अञ्चल अस्पताल पु¥याईएको आफन्त हरि सार्कीले बताए ।

डाक्टरले भने आफूलाई बिहानको समयमा मात्रै बिरामीका विषयमा खबर गरिएको प्रतिक्रिया दिएका छन् । महाकाली अञ्चल अस्पतालका निमित्त प्रमुख डा.रोजन ताम्राकारले बिरामी महिलामा मुटुको समस्या समेत रहेको र हृदयघात भई मृत्यु भएको हुन सक्ने बताए । ‘ मृत्यु के कारणले भयो भन्ने त पोष्टमार्टमपछि मात्रै एकिन भन्न सकिन्छ’ उनले भने,‘ प्रारम्भिक अवस्था हेर्दा बिरामीको मृत्यु हृदयघातले भएको हुन सक्छ’ । अचानक हृदयघातले बिरामीको मृत्यु हुन सक्ने र त्यसको कुनै लक्षण नदेखिने गरेको अस्पतालले जनाएको छ ।

कमेन्ट लोड गर्नुस