सुदूर नेपाललाई विश्वसँग जोड्दै

भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अझै आएनन

२०७४ फाल्गुन २०, १०:५४

प्रदेश नम्बर ७ को भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अहिले सम्म पनि प्रदेश मन्त्रालयमा हाजिर हुनु भएको छैन । नेपाल सरकारले सह–सचिव राजनराज पाण्डेलाई प्रदेश नम्बर ७ को भौतिक पुर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्ने गरी खटाएको थियो ।

तर अहिले सम्म उहाँको कुनै अत्तोपत्तो नभएको प्रदेश नम्बर ७ का भौतिक पुर्वाधार तथा योजना मन्त्री पठान सिह बोहराले जानकारी दिनुभयो ।

भौतिक पुर्वाधार विकास मन्त्रालयमा सचिव पाण्डे, चार जना उप–सचिव र दुई जना ईन्जिनियर अहिले सम्म पनि हाजिर भएका छैनन । भौतिक पुर्वाधार विकास मन्त्रालयमा एक जना सचिव, चार जना सह सचिव, ५ जना ईन्जिनियर, एकजना लेखा अधिकृत, एक जना शाखा अधिकृत, नासु गरी ३३ जनाको दरबन्दी कायम गरिएको छ ।

पछिल्लो समय खटाईएका १४ जना कर्मचारी मध्ये अहिले सम्म ६ जना मात्रै हाजिर भएका भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्री बोहराले कर्मचारीको अभाव बारे प्रधानमन्त्रीको कार्यालय, सामान्य प्रसाशन मन्त्रालय र भौतिक योजना तथा निर्माण मन्त्रालयमा पत्राचार गरिसकेको बताउनभयो ।

उहाँले केही नीतिगत कुराहरु सचिव वा उपसचिव वा शाखा अधिकृत सँग गर्नुपर्ने भएपनि कोही पनि हाजिर नभएकाले समस्या भईरहेको बताउनुभयो ।

अरु मन्त्रालयमा पनि कर्मचारी अभाव
भौतिक पुर्वाधार मन्त्रालय मात्रै होईन, प्रदेश नम्बर ७ का अरु मन्त्रालयहरुमा सचिवहरु आई पुगेपनि उनीहरुको मातहत खटाईएका धेरै कर्मचारी पनि हाजिर भएका छैनन । भौतिक पुर्वाधार मन्त्रालय पछि सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयमा अझै ७ जना खटाईएका कर्मचारी हाजिर नभएका हुन ।

प्रदेशमा कर्मचारीको खटन पटकको जिम्मेवारी पाएको आन्तरिक मामिला मन्त्रालयले, खटाईएका मध्ये पनि प्रदेश प्रमुखको कार्यालयमा ५ जना, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ६ जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १ जना, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयमा ५ जना, भौतिक पुर्वाधार विकास मन्त्रालयमा ८ जना, सामाजिक विकास मन्त्रालयमा ७ जना, भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ६ जना र प्रदेश सभा सचिवालयमा २ जना गरी ४१ जना कर्मचारी अझै हाजिर नभएको जनाएको छ ।

संघीय सरकारले प्रदेश नम्बर ७ का लागि प्रदेश प्रमुख, प्रदेश संसद र प्रदेश मन्त्रालयहरुका लागि २८७ जनाको दरबन्दी कायम गरेकोमा त्यस मध्ये १३३ जनालाई मात्रै खटाएको छ । खटाईएका १३३ जना मध्ये पनि ४१ जना अहिले सम्म तोकिएको स्थानमा हाजिर भएका नभएपछि मन्त्रालयहरुको काम प्रभावित भएको छ ।

कमेन्ट लोड गर्नुस