एन्फालाई संघीय ढाँचामा लगिने
अखिल नेपाल फुटबल संघको संरचनालाई संघीय ढाँचामा लगिने भएको छ। मुलुक संघीयतामा गएसँगै एन्फा सञ्चालनको प्रावधान पनि सोहीअनुसार तय गरिएको छ।
चितवनको सौराहामा भएको एन्फाको १७औं विशेष साधारणसभाले एन्फाको विधान संशोधन गरेको हो।
विशेष साधारणसभाले एन्फाको कर्मचारी नियमावली, आर्थिक नियमावली र एन्फा सञ्चालन नियमावली पारित गरेको छ। संशोधित विधानले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को निर्देशिकाअनुसार एन्फा सञ्चालन, आर्थिक र कर्मचारी नियमावली बनाइएको हो।
नेपाली फुटबललाई नयाँ गतिमा लैजान एन्फाको विधान संशोधन गरिएको एन्फाका प्रवक्ता किरण राईले बताए। ‘नेपाली फुटबललाई फड्को मार्ने खालको विधान पारित भएको छ’, राईले भने। राईले सर्वसम्मत रूपमा विधान संशोधन गरिएको पनि बताए। योसँगै एन्फाको अब सातवटै प्रदेशमा कमिटी बन्नेछ।
संशोधित विधानअनुसार एन्फाका लागि मताधिकार प्रतिनिधिको संख्या ९२ जना हुने व्यवस्था राखिएको छ। तीनवटा प्रदेशमा जिल्ला फुटबल संघको संख्या बढाइएको छ।
प्रदेश ५ मा पाँचवटा थप गरेर ६ वटा बनाइएको छ। कर्णाली प्रदेश र ७ नम्बर प्रदेशमा दुईदुईवटा समिति थप गरेर चारवटा पुर्याइने भएको छ। प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशमा पहिला भएकै समितिको संख्या यथावत् राखिएको छ।
साधारणसभाबाटै पहिलोपटक एन्फाको आर्थिक नियमावली, कार्य सञ्चालन नियमावली, कर्मचारी नियमावली, खेलाडी नियमावली पारित गरिएको हो।