सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालमा औषधी नभएको भन्दै व्यथा लागेकी गर्भवतीलाई अन्यत्र पठाईदै

२०७५ मंसिर २६, १२:०५ सीताराम ओझा

सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा आवश्यक औषधी नभएको भन्दै गर्भवतीहरुलाई व्यथा लागेका वेला पनि अन्यत्र पठाउने गरेको पाईएको छ। प्रसुती वार्डमा स्वास्थ्यकर्मीहरुको चरम लापरवाही भईरहेका वेला भएका केही औषधी म्याद सकिएका प्रयोग भईरहेका वेला प्रसुती गराउने औषधी समेत नपाएर गर्भवतीलाई अन्यत्र पठाउने गरिएको छ। अस्तव्यस्त र लथालिङ प्रसुती वार्डमा सामान्य औषधी पनि नपाउँदा गर्भवती हुन आउने र उनीहरुका आफन्तहरु दुःख पाउने गरेको वताउँछन्। औषधी अभाव हुनुमा अस्पताल प्रशासनकै लेखा र स्टोर शाखाका कर्मचारीको मिलोमतो हुने गरेका कुराहरु वेला वेलामा चर्चा आउने गरेपनि यसमा कहिल्यै सुधार हुन सकेको छैन् । औषधी आपुर्तिकर्तासँग मिलेर औषधी कम आपुर्ति गर्दै विल मिलाएर लाखौं रकम कुम्ल्याउने गरिएको आरोप जानकारहरुले लगाएका छन्। 

सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा सुत्केरी हुन धनगढी ल्याईएकी श्रीमती गोमती जोशीलाई केही दिन अगाडी दुखाई कम हुने डिलोना नामक औषधी प्रयोग गरेको घटना अझै सेलाउन पाएको छैन्। एक औषधी आपुर्ति गर्ने सम्झौता गरेर अर्को औषधी प्रसुती वार्डमा दिईने र म्याद सकिएका औषधी पठाउने गरेको आरोप लाग्ने गरेको छ। प्रसुती वार्डमा आउने आमा र बच्चाको स्वास्थ्यसँग स्वास्थ्यकर्मीले खेलवाड गरेको आरोप लाग्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका महेशराज जोशीले लगाए। 
स्वास्थ्यकर्मीको लापरवाही प्रति अस्पताल प्रशासन नै असन्तुष्ट रहेका वेला झन् औषधी पनि म्याद सकिएका प्रयोग हुन थालेपछि सुत्केरी र शिशुहरुको ज्यान झन जोखिममा परेकै बेला औषधी पनि पाउन छोडेपछि थप विचल्ली ल्याएको हो। चालु आर्थिक बर्षको चार महिनामा ६६ शिशुको सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा मृत्यु भएकोमा अवस्थामा त्यहाँ म्याद सकिएका औषधीको प्रयोग मात्रै भएको छैन् कि औषधीको समेत अभावमा सुत्केरीलाई अन्यत्र पठाउने गरिएको छ। व्यथा लागेपछि प्रसुती वार्डमा लगिएकाहरुलाई शल्यक्रिया गराउने औषधी र सामानको अभाव हुन थालेपछि केही दिनदेखि त्यहाँ पुगेकाहरुलाई फर्काउने र रेफर गर्ने गरिएको छ। तर अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले यस वारेमा जानकारी नभएपनि औषधीको अभाव नभएको जिकिर गरे। 

गर्भवतीलाई अन्तिम अवस्थामा औषधी नभएको भन्दै अन्यत्र रेफर गर्दा स्वास्थ्यकर्मी र चिकित्सकहरुले लापरवाही गर्दै आएका छन्। उनीहरुले औषधी नभएको वहाना वनाउँदै निजि अस्पताललाई पोस्ने काम गरिरहेका वेला अस्पताल प्रशासनको लेखा र स्टोर शाखाले आपुर्तिकर्तासँग मिलेर वद्मासी गर्दै आएका छन्। आमा सुरक्षा कार्यक्रम सञ्चालन भएको वेला आवश्यक पर्ने औषधी सरकारले नै पठाउने गरेकोमा त्यसमा पनि अनियमितता गर्न नछोडिएको हो। तर प्रसुती वार्डका ईन्चार्ज डाक्टर खगेन्द्र भट्ट भने आफुले नै विहान चारवटा शल्यक्रिया गरेको जानकारी दिदै अन्य कारणले रेफर गरिएको हुन सक्ने बताउँछन्। 

अस्पतालले आवश्यक पर्ने औषधी खरिदका लागि टेण्डर आव्हान गर्दै आएकोमा त्यसमा २८ बर्षदेखि अमित मेडिसिन, डिवि ईन्टरनेशनल, ड्रग सेन्टर लगायतले कब्जा जमाउँदै आएका छन्। अस्पताल प्रशासनका कर्मचारी र त्यसमा पनि लेखा र स्टोरका कर्मचारीको मिलोमतोमा औषधी आपुर्तिको सम्झौता गर्ने तर अधिकांश औषधी आपुर्ति नै नगर्ने र आपुर्ति गरे पनि सम्झौतामा नभएकै कम्पनीको गर्ने गरेको आरोप लाग्दै आएको छ। तर अस्पतालको स्टोर शाखाका नायव सुब्बा जितवहादुर शाहले यस वारेमा जानकारी दिन मान्नु भएन्। अस्पतालका औषधीसँग जोडिएका कर्मचारी, लेखाका कर्मचारी र स्टोरका कर्मचारीहरुले बार्षिक रुपमा गर्दै आएको कमाई हिसाब गर्ने हो भने पनि उनीहरुको मिलोमतो रहेको छर्लङ हुन्छ। बर्षमा लाखौं करोडौका घर जग्गा जोड्ने र छोराछोरीलाई देश विदेशका महँगा ठाउँमा पढाउनका लागि के ती कर्मचारीले सरकारी स्केल वापत पाउने तलब भत्ताले पुग्छ ? आम नागरिकको प्रश्न रहेको छ। मानव स्वास्थ्यमाथि भईरहेको ठाडो अनियमितता रोक्नुको सट्टा मिलेर सवै थप जलमल गर्ने काम भईरहेको छ। 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस