सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक्ष्य अनुसार काम नहुँदा पाटन विमानस्थलमा कालोपत्रेको काम अलपत्र

२०७५ मंसिर २३, ०२:४५ रोशन भट्ट

बैतडीको पाटन विमानस्थलमा लक्ष अनुसार काम नहुँदा कालोपत्रेको काम अलपत्र भएको छ । सुदूरपश्चिम प्रदेशका तीन विमानस्थल अछामको साफेंबगर, डोटीको दिपायल र बैतडीको पाटनको काम संगै सुरु गरिएको थियो । तर अछामको साफेंबगर विमानस्थलको काम सम्पन्न भएर परिक्षण उडान भईसक्दा पनि बैतडीको पाटन र डोटीको दिपायल विमानस्थलको काम अझै अलपत्र परेको छ । गत असारमै सकिनु पर्ने भएपनि काममा लापरवाही हुदा अलपत्र परेको हो । अव पुष १५ गतेदेखी कालोपत्रेको काम सुरु गरने र माघ भित्रै विमानस्थल सुचारु गरिने दावी गरिएको छ । 

विमानस्थल निर्माणमा निर्माण व्यवसायीको लापरवाही भएकोले काम सुस्त भएको हो । गत असारमा सक्ने लक्ष्य सहित निर्माण कार्य सुरु गरिएको विमानस्थलको कालोपत्र गर्ने कार्य अझै सुरु भएको छैन । अघिल्लो भदौमा काम शुरु गरेको विमानस्थलको निर्माण कार्य गत असारमै सकिनु पर्ने भएपनि लापरवाहीका कारण कालोपत्रेको काम सुरु नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाटन विमानस्थल हेरिरहेका ईन्जिनियर नल विक्रम थापले बताए । 

बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा निमार्ण भईरहेको विमानस्थल सुचारु भए आर्थिक समृद्धि हुने आपेक्षा गरिएको थियो । निर्माणको काममा भईरहेको ढिलााईले बैतडीका स्थानीयको जहाज चड्ने सपना पुरा हुन अझै समय लाग्ने पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले बताए । 

लक्ष्य अनुसार काम नहुँदा सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो बैतडी स्थित पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै रहेको हो । विमानस्थलमा कटिङ, फिटिङ र सब–बेसको काम सकिएको भएपनि कालोपत्रेको काम अझै सुरु भएको छैन । ११ करोड २९ लाखको लागतमा निर्माण भईरहेको पाटन विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको रनवे कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ । तोकेको अवधिमा काम सम्पन्न नगरे निर्माण व्यवसायीलाई कारवाही गर्ने दावी गरेको नेपाल नागरिक उडड्यन प्राधिकरण पनि मौन रहेको छ । 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस