सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा स्याउँ खेतीको आकर्षण

२०७५ असोज २१, ०७:०३ नरेन्द्र कार्की

दार्चुलाको अपी हिमाल गाउँपालिका ४ खात्तीका प्रताप अट्यालले आफ्नै लगानीमा पाँच सय बढि स्याउँका विरुवा लगाएका छन्। समुद्री सतहबाट दुई हजार चार सय ५५ मिटर उचाईमा रहेको खण्डेश्वरीको खात्तीस्थित खेती नगरिने सुख्खा क्षेत्रमा स्याउँको बोट उत्पादन गरेका हुन्। १५ वर्षअघिबाट स्याउँ खेती गरेका अट्यालको अहिले बारीमा लटरम्म स्याउँ फलेका छन्। २०६० सालमा जुम्लाका व्यापारीले स्याउँको बोट विक्री गर्न ल्याएका थिए। सो समयमा ३ रुपैयाँदेखि ८ रुपैयाँसम्म खरिद गरी लगाइएका बोटबाट अहिले अट्याल परिवारको घरखर्च चल्न थालेको छ। अपी हिमाल गाउँपालिका ३ थुम्तीका दानसिह ठेकरेले खेतभरी दुई हजार स्याँउका बोट लगाएका छन्। बाझो खेत रहेको ठाउँमा स्याउँ खेती गरेका हुन्। स्याउँ लगाएको १० वर्षपछि फल्न थाल्यो उनले भने, अहिले स्याउबाट ५० देखि ६० हजार रुपैयाँ आम्दानी गर्न थालेका छौ। स्याउँ फल्छ भनेर थाहाँ थिएन, तर लगाइ हालौ भनेर लगाए ठेकरेले भन्नुभयो, अहिले घरखर्च चलेको छ। 
खण्डेश्वरीको खाती, थुम्ती, काटै, पाथा, कोर्थी, घाजिर लगायतका गाउँमा स्याउँ उत्पादन भइरहेको छ। किसानहरुले आफ्नै लगानीमा स्याउँ उत्पादन गरेपनि सडक अभावमा बजारीकरण गर्न नसकेको स्याउँ उत्पादक कृषक जनकसिह कार्कीले बताए। किसानको लागि चाहिने मलखाद, काँटछाँट तथा कुन जातको स्याउँ लगाउँदा हुन्छ भन्ने प्राविधिक ज्ञान अभावले समस्या छ, कार्कीले भने।
प्राविधिक ज्ञान र सीप समयमै दिन सकिएको भए जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अपी हिमाल गाउँपालिकाको वडा नम्बर ३ र ४ मा स्याउँ उत्पादन राम्रो हुने देखिएको छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई स्याउँ जोन दार्चुलाका सूचना अधिकारी हरिदत्त जोशीले भने। स्याउँको सामान्य ज्ञान नहुँदा पनि उत्पादन र स्याउँको स्वाद राम्रो छ। 
यसअघि जिल्लामा स्याउँ उत्पादनको बारेमा अध्ययन नगरिदा पनि किसानहरुले प्राविधिक ज्ञान लिन पाएका छैनन्। अपी हिमाल गाउँपालिकाको २ हजार देखि ३ हजार ५ सय मिटर उचाईसम्म स्याउँ उत्पादन हुने देखिएको जोशीले बताए।
यस जिल्लाका पाँच गाउँपालिकामा यसै आर्थिक वर्षबाट शुरु हुने स्याउँ जोन कार्यक्रमको सम्भाव्यता अध्ययन गर्न अपी हिमाल गाउँपालिका गएको बेला त्यस क्षेत्रको स्याउँ उत्पादन क्षेत्रको अवस्थाबारे जानकारी लिइएको हो। पहिलो चरणमा गाउँपालिकाको स्याउँ उत्पादन हुने क्षेत्रको स्थलगत अध्ययन, कृषक, जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको जोशीले जानकारी दिए । 
दार्चुलाका हिमालयन रेन्जमा पर्ने अपी हिमाल, मार्मा, दुहुँ, नौगाड र व्यास गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको हो। आठ वर्षसम्म सञ्चालन हुने कार्यक्रमले पहिलो वर्ष गाउँपालिकाको वडाअन्तर्गत वस्तीस्तबाट कार्यक्रम शुरु गर्नेगरी तयारी स्वरुप अपी हिमाल गाउँपालिका पुगिएको सूचना अधिकारी जोशीले जानकारी दिए।
अहिले स्याउँ फल्ने क्षेत्रको भूवनोट, हावापानी माटो परिक्षण विगतमा लगाइदै आएको स्याउँको अवस्थाबारे जानकारी लिन शुरु गरिएको छ, उनले भने, यो कार्यक्रमले यस क्षेत्रमा उत्पादन प्रसोधन तथा बजारीकरणसम्मको व्यवस्थापन हुनेछ।
अहिले स्थानीयले रोयल जेलिसियस र गोल्डेन जेलिसियस गरी दुई प्रकारको स्याउँ उत्पादन गरेको पाइएको छ। स्याउँको संरक्षण मलखाद, स्याउँ छेकबार तथा सिचाईको बारेमा ज्ञान नहुँदा उत्पादन अझै बढ्न नसकेको पाइएको जोशीले बताए। खण्डेश्वरीको थुम्ती क्षेत्रमा पछिल्लो समय थुम्ती युवाक्लवले सामूहिक स्याउँ खेती गरेका छन्। तर स्याउँको लागि आवश्यक जनशक्ति अहिलेसम्म नपाउँदा किसान मार्कामा परेका छन्। स्याउँ उत्पादन  गरेपनि बजारीकरण छैन्। सडक पुग्न नसकेको क्षेत्रमा उत्पादन गरिएको स्याउँ अहिले स्थानीय बजारमा विक्री हुने गरेको छ।
यस गाउँपालिकाको खाती तामाखानी थुम्तीमा स्याउँ खेतीको लागि राम्रो सम्भावाना देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याउँ जोन दार्चुलाका निमित्त प्रमुख विष्णुप्रसाद ओझाले भने अहिलेको खेती गरिएको क्षेत्रमा किसानलाई स्याउँ लगाउन उत्प्रेरित गर्न सके सम्भावना निकै छ। 
कार्यक्रम अन्तर्गत कृषक समूह, सहकारी संघसंस्थालगायतसँग सहकार्य गरेर यो कार्यक्रम अघि बढाइने उनको भनाई छ। यस कार्यक्रम अन्तर्गत जिल्लाका पाँच सय हेक्टर अर्थात एक हजार हेक्टर क्षेत्रफल रोपनी जमिनमा स्याउँ खेतीगर्ने कार्यक्रमको लक्ष्य छ।
अहिले दार्चुलाको अपी हिमालको खण्डेश्वरी, दैभात, व्याँस गाउँपालिकाको छांगरु तिंकर क्षेत्रमा स्याउँ खेती हुँदै आएको छ।

 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस