सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब लागत अनुमान

२०७५ भदौ ५, ०७:५०

  केरुङ–काठमाडौं रेलमार्गअन्तर्गत पर्ने रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । 
केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदनले यस्तो अनुमान गरेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । प्रतिवेदनका आधारमा रेलमार्ग बनाउन प्रतिकिलोमिटर ३ अर्ब ३३ करोड रुपैयाँ लाग्ने देखिएको छ ।
प्रतिवेदनले रसुवागढी–काठमाडौं ७२.२५ किमि रेलमार्गमध्ये ९८ दशमलव ५ प्रतिशत पुल र सुरुङ रेलमार्गको हिस्सा हुने देखाएको छ ।
 करिब ९ वर्षमा निर्माण सम्पन्न गर्न सकिने उक्त रेलमार्गका लागि वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।
रेलमार्गबारे विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न गत वैशाखमा चिनियाँसँग सम्झौता भएको थियो । चाइना रेल्वे फस्ट सर्भे एन्ड डिजाइन इस्टिच्युटले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो ।
त्यसअघि चाइना नेसनल रेल्वेका उपप्रशासकको नेतृत्वमा आएको टोलीले रसुवागढीदेखि लुम्बिनीसम्मको रेलमार्ग सम्भाव्यताबारे अवलोकन गरेर फर्किएको थियो ।
त्यसताका विभागले चिनियाँ टोलीसँग उक्त रेलमार्ग निर्माणका लागि विभिन्न चारवटा जिज्ञासा राखेको थियो । चार हजार मिटरभन्दा बढी उचाइको तिब्बती पठारबाट १३ सय मिटरको काठमाडौंको ओरालोमा रेल ल्याउन सकिन्छ/सकिँदैन भन्ने विभागको जिज्ञासा थियो ।
त्यस्तै, दुई ठूला भूकम्पीय दरारको क्षेत्रमा उक्त मार्ग पर्ने, उच्च हिमाली क्षेत्रमा यात्रुलाई अक्सिजन आपूर्ति, रेलमार्गमा ९० प्रतिशत जति पुल र सुरुङ बनाउनुपर्ने देखिएकाले लगानीको व्यवस्था, रेलमार्गमा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्था र सञ्चालन मोडालिटीबारे विभागले टोलीसँग जिज्ञासा राखेको थियो । 
चाइना रेल्वेका अधिकारीले आफूहरूले सबै प्रश्नको जवाफ दिन सक्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर नेपाललाई दिने प्रतिबद्धता जनाएका थिए ।
गत वैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा रेल विभागका प्रवक्ता उपाध्यायसहितको टोली चीन गएको थियो । त्यसताका चाइना नेसनल रेल्वेका अधिकारीले केरुङ–काठमाडौं रेलमार्गको अध्ययनका लागि आफूहरूले चाइना रेल्वे फस्ट सर्भेलाई अध्ययनका लागि कन्सल्ट्यान्टका रूपमा नियुक्त गरेको जानकारीसहित अध्ययन प्रतिवेदन तयार पार्न सुरु गरेको जनाएको थियो । 
त्यसै प्रतिबद्धताअनुसार र प्रधानमन्त्रीको भ्रमणताका भएको समझदारीलाई आधार बनाएर उक्त रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन चिनियाँ पक्षले तयार पारेको हो ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा काठमाडौं–केरुङ रेलमार्ग अनुदानमा बनाइदिन चीनसमक्ष नेपालले प्रस्ताव गरेको थियो । रेलमार्ग कुन मोडालिटीमा निर्माण गर्ने भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन ।
उक्त अध्ययन प्रतिवेदन बुझ्न र थप छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोली शनिबार चीन गएको छ । 
उक्त टोली थप छलफलपछि बिहीबार मात्र नेपाल फर्किने कार्यक्रम रहेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

कमेन्ट लोड गर्नुस