सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फ्रुट उद्योग खोले महेन्द्रनगरका २८ वर्षिय युवा हेमन्त भट्टले

पौरखी हातहरु : श्रृंखला १०

२०७५ साउन २६, १२:०६

समान्यतः उच्च शिक्षा अध्ययन गरेको जो कोहीले पनि राम्रो जागिर खाने अठोट गरेको हुन्छ । उच्च शिक्षा सकेपछि स्वदेशमा कुनै सम्भावना नभएको भन्दै रोजगारीका लागि खाडी मुलुकतीर हानिने युवाहरुको संख्या पनि कम छैन् । तर हाम्रै वरीपरी केही त्यस्ता व्यक्ति पनि छन्, शिक्षा आर्जन गरेर पनि न त उनीहरुमा कुनै सरकारी अफिसर बन्ने इच्छा जाग्यो न कुनै विदेशी भूमी रोजाईमा नै प¥यो । जसका कारण उनीहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने कुराले सधै झस्काईरहेको हुन्छ । त्यस्तै युवाको सुचिमा पर्छन कञ्चनपुरका २८ वर्षिय युवा हेमन्त भट्ट ।

 

सफ्टवयर इन्जिनीयर विषयमा स्नातक तह उत्र्तिण गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका स्थायी ठेगना भई हाल धनगढीमा बस्दै आएका हेमन्त भट्टलाई अध्ययनका क्रममा सरकारी जागिर खाने इच्छाले कहिले पनि च्यापेन । न त उनको मनमा रोजगारीका लागि विदेश जानै पर्छ भन्ने कुराले स्थान पाउन सक्यो । थियो त केवल स्वदेशमै केही गरेर देखाउनुपर्छ भन्ने अठोट मात्र । जसको फलस्वरुप भट्टको मनमा पेय पदार्थको उत्पादन  र कारोबार गर्ने इच्छा जाग्दै गयो ।
२ वर्षको लामो अध्ययन र संघर्ष पछि भट्टले गत बैशाखदेखी धनगढीको कैलाली गाँउमा फ्रुट उद्योगको स्थापना गरी नयाँ कामको सुरुवात गरेका छन् ।  बैतडी पुर्खेली घर भएका भट्टका वुवा विष्णुदत्त भट्ट, पेशाले सरकारी जागिरे छन् । सुरुवातका दिनमा भट्टलाई परिवारका सदस्यलाई रिझाउन मुस्कील परेपनि पछि गएर उनले सबैबाट राम्रो सहयोग पाएर स्थानीय स्तरमै फ्रुट उद्योग स्थापना गरी पेय पदार्थ उत्पादन र बिक्रि वितरण गर्न थालेका हुन् । भट्टले फ्रुट प्रशोधन केन्द्रबाट विभिन्न ५ किसिमका पेय पदार्थ, ८ किसिमको सस र २ किसिमको मिक्स फ्रुट उत्पादन गर्दै आएका छन् ।


साना ठुला गरेर ३५ भन्दा बढि मेसिनहरु खरिद, उद्योग सञ्चालनका लागि भवन निर्माण लगायतमा झन्डै ३ करोड खर्च गरेका भट्टले मेसिनरी समाग्री र पूर्वाधार विकासमा नेपाल सरकार साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाबाट ५० प्रतिशत अनुदान समेत प्राप्त गरेका छन् । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र आफ्नो ब्राण्डसँगै ठाँउलाई समेत देश विदेशमा चिनाउने लक्ष्य रहेको उनले बताए । फ्रुट प्रशोधन केन्द्र सञ्चालन गर्न भट्टले भारतबाट एकजना खाद्य एव्म पेय पदार्थ प्राविधिक ल्याएका छन्  भने अन्य ५÷६ जना कामदार धनगढी क्षेत्रकै छन् ।
२८ वर्षकै उमेरमा भट्टले सुरु गरेको फ्रुट उद्योग व्यापारको पहिलो सुरुवात र जीवनको नौलो अनुभव हो । सुरुका दिनमा बजारमा प्रतिस्पर्धा गर्न चुनौती रहेपनि दरिलो मन बनाएर भविष्यमा ठुलै व्यापारी बन्ने अठोट उनले बोकेका छन् । आफ्नै स्वइच्छाले फ्रुट उद्योग सञ्चालन गरेका भट्टलाई अहिले घर परिवार सहित समाजका अन्य व्यक्तिहरुले पनि राम्रो सहयोग गरेका छन् ।

निरन्तरको लगनशीलता र मेहनतले एक दिन अवश्य पनि लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई भट्टले पुष्टि गरिदिएका छन् । सरकारले युवाहरुका लागि ल्याएको क्रण र अनुदानका कार्यक्रमलाई बृद्धि गर्न सके आफू जस्तै शिक्षित युवा औद्योगिक क्षेत्रमा आकर्षित हुने भट्टको बुझाई छ ।
    

 

कमेन्ट लोड गर्नुस