सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलितको हातको पानी खाएको भन्दै गाउँ निकाला

२०७५ जेठ १३, १२:०३

जिल्लाको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन्। वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केही वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन्। हिमाली गाउँपालिका–२, नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवारलाई दलितको हातको पानी खाएको निहुँमा गाउँबाट लखेटिएको बताइएको छ।

स्थानीयवासीले बुढाका दम्पतीलाई हरेक सामाजिक क्रियाकलापमा अलग्याएर गाउँमा बस्न नदिएको बुढाले गुनासो गरे। सामाजिक परम्पराअनुसार दलितले छोएकाले कुनै चीज वस्तु खानु हुदैन भन्ने मान्यतालाई तोड्नका लागि एक दलितको हातको पानी खाँदा आफ्नो दम्पती र नातिनातिनीसमेत गाउँबाट लखेटिएको बुढाले बताए । दलितसँग सम्बन्ध राखेको भन्दै गाउँलेले कुटपिट गरी सामाजिक रुपमा अलग्याएको दम्पतीले बताएका छन्।

गाउँलेबाट लेखेटिएपछि बुढा दम्पती जंगलको नजिकै एक सानो छाप्रो बनाएर बस्दै आएका छन्। आफूहरुलाई आफ्ना छोराले भेटेमा समेत उनीहरुलाई गाउँलेले कुटपिट गर्ने गरेको बुढाले बताए। गाउँमा गएका थाहा पाएमा गाउँलेले धम्की दिँदै गाउँमा नआऊ भन्दै लखेट्ने गरेका छन्। बुढाका दम्पतीले नातिनातिनीलाई आफैँसँग राखेर निजी विद्यालयमा पढाउने गरेका छन्। हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले दम्पतीका परिवारलाई दुःख दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अहिलेको युगमा पनि कुसंस्कार गर्ने जो कोहीलाई छुट नभएकाले यसका बारेमा यथार्थ बुझेर कारबाही गर्ने मल्लको भनाइ छ। गाउँपालिका अध्यक्ष मल्लले सोही वडाका वडा सदस्य वाचलाल बुढालाई गाउँमै यो समस्या मिलाएर दम्पतीलाई स–सम्मान गाउँको सामाजिक कार्यमा समावेश गर्न आग्रह गरे।
 

कमेन्ट लोड गर्नुस