सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वदेश फर्कदै सन्दीप लामिछाने

२०७५ जेठ ८, १०:०५

भारतमा जारी इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगलबार अपराह्न स्वदेश फर्कँदै छन्।

उनी जेट एयरमार्फत अपराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने छन्। सन्दीपले आईपिएलमा तीन खेल खेल्दै १२ ओभरमा ८२ रन खर्चिएर पाँच विकेट लिएका थिए।

अघिल्लो चरणमा टोली नपुग्ने निश्चित भएपछि दिल्लीले सन्दीपलाई अवसर दिएको थियो। दिल्लीले सुरुका तीन खेलमा सन्दीपलाई खेलाएको थिएनन्। उनले रोयल च्यालेन्जर्स बै‌ंगलोरविरुद्ध खेलेर आईपिएलमा डेब्यू गरेका थिए।

सन्दीपले पहिलो खेलमा चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर एक विकेट लिएका थिए। दोस्रो खेलमा उनले चेन्नई सुपर  किङ्सविरुद्ध चार ओभरमा २१ रन खर्चिएर एक विकेट हात पारे।

आईतबार भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीपले चार ओभरमा ३६ रन दिएर तीन विकेट हात पारेका थिए। सन्दीपले खेलेका तीनमध्ये दुई खेलमा दिल्ली विजयी भएको थियो।

सन्दीपले अब मे ३१ तारिखमा लर्डस मैदानमा टीट्वेन्टी विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्नेछन्।

सन्दीपले आईसिसी -११ टोलीबाट खेल्नेछन्। क्यारेबियन क्षेत्रमा आँधीका कारण भत्किएका रंगशालाको पुनर्निर्माणमा सहयोग जुटाउन आईसिसीले च्यारिटी खेलको आयोजना गर्न लागेको हो।

दिल्लीले २० लाख भारतीय रुपैयाँमा सन्दीपलाई आईपिएलमा आबद्ध गरेको थियो। उनी करिब दुई महिना भारत बसेर फर्किएका हुन्। आईपिएलमा विश्व क्रिकेटका होनाहार खेलाडीसँग उनको जम्काभेट र नजिक हुने अवसर पाएका थिए।

श्रोत देश सञ्चार 

कमेन्ट लोड गर्नुस