सुदूर नेपाललाई विश्वसँग जोड्दै

सालमुनी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा, दशैँसम्म विद्युत उत्पादन हुने

२०७५ साउन २४, ०७:३९

सरकारले सञ्चालन गरेका जलविद्युत आयोजनाहरु अलपत्र परेका वेला निजि क्षेत्रको लगानीमा डोटीको विपीनगरमा निर्माणाधीन सालमुनी जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झण्डै एक अर्वको लगानी रहेको डोटीको बड्डीकेदार गाउँपालिका–१ विपीनगर स्थित कापडी गाडमा निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । निर्माण सुरु गरेको तीन वर्षभित्रै ३.३३ मेगावाट विद्युत् उत्पादन क्षमताको आयोजना विद्युत उत्पादको तयारीमा रहेको छ ।

आगामी दशैंसम्ममा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोड्ने तयारी गरिएको आयोजनाले जनाएको छ । २०७१ सालमा अध्ययन सुरु भएर विद्युत उत्पादनको तयारीमा रहेको आयोजनाले आगामी दशैंसम्म विद्युतलाई राष्ट्रिय प्रसारण लाईनमा जोड्ने लक्ष्य राखिएको जलविद्युत आयोजनाका साईड ईन्चार्ज सरोज घिमिरेले बताए । गत आर्थिक वर्षमै काम सक्ने लक्ष्य लिईएकोमा ढिलो गरी काम सुरु गर्दा एक वर्ष ढिलो गरी विद्युत उत्पादनको चरणमा पुगेको उनले जनाए ।

सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भू कन्स्ट्रक्सन र नेपाल सरकारबीच सम्झौता भए अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उत्पादित विद्युत् सरकारले नै आवश्यक क्षेत्रहरूमा बिक्री–वितरण गर्ने भन्ने सम्झौता भएको छ । सम्झौता अनुसार ३० वर्षसम्म विद्युत् बिक्रीबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिनेछ । १० प्रतिशत सेयर र विद्युत स्थानीयले समेत पाउनेछन् । सुरुङ मार्फत कापडीगाडको पानी जलविद्युत् गृहमा लैजान लागिएको छ । विद्युत् गृहमा लैजान कापडीबाट १२ सय ३ मिटर लामो सुरुङ तयार भईसकेको निर्माण पक्षले जनाएको छ । कापडीगाड हँुदै विद्युत् गृहमा लगेको पानी ठूलीगाडमा छाडिने आयोजनाको भनाई छ ।

विद्युत् निर्माणका क्रममा अनावश्यक वन फडानी गरेको भन्ने अरोप समेत लगानीकर्ताहरूले खेपिरहेका वेला अव लाईन विस्तार नभएर विपीनगर ग्रेडवाट नै राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएको छ । आयोजना निर्माण हुन थालेपछि स्थानीयहरू उत्साहित भएका छन् । आयोजनाले गाउँमै रोजगारी सृजना भएपछि कामका लागि भारत जाने क्रम घटेको त्यस आसपासका स्थानीयहरु वताउँछन ।  

कमेन्ट लोड गर्नुस