सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीवासीले धानको भुसादेखी भेडा बाख्रामा समेत कर तिर्नुपर्ने

करको मारमा जनता

२०७५ साउन ३१, ०७:४१

स्थानीय तह र प्रदेश सरकार सञ्चालनमा आउसंगै करको दायरा दर समेत बढेपछि जनता महङ्गीको मारमा पर्ने भएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले करको दायरासँगै दर पनि बढाएपछि सर्वसाधारण करको मारमा परेका हुन् । धनगढी उप–महानगरपालिकामा सेवा शुल्कमा समेत बृद्धि भएको छ । स्थानीय सरकारले दैनिक उपभोग्यका समाग्रीदेखी लिएर भेडाबाख्रामा समेत कर लगाएपछि व्यवसायीहरु नागरीकहरुबाटै असुल्न थालेका छन् । उप–महानगरपालिकाले गत असार १० गते नगरसभाबाट स्वीकृत गरेको आर्थिक ऐन २०७५ मा विभिन्न १७ शिर्षकका सेवा तथा वस्तुमा कर लाग्ने उल्लेख गरेको छ ।

उप–महानगरपालिकाको आर्थिक ऐनमा सम्पत्ति कर, भूमी कर, घर वहाल कर, मनोरञ्जन कर, कृषि तथा पशुजन्य वस्तुको कारोबार कर र प्राकृतिक स्रोत कर संकलन गरिने उल्लेख गरिएको छ । आर्थिक ऐनमा गतविगतका वर्षहरुमा कर संकलन हुदै आएका वस्तु तथा सेवाको हकमा करको दर बृद्धि केही मात्रामा भएको छ भने धेरै नयाँ वस्तु तथा सेवामा पनि कर तोेकेको छ । जग्गाको मूल्याङकनका आधारमा सम्पत्ति कर कायम गरेकोमा उप–महानगरपालिकाले वडै पिच्छे मेन रोड, पक्की सडक, ग्राभेल सडक  र कच्ची सडकका आधारमा  कर तोकेको छ भने भूमी कर पनि सोही आधारमा संकलन गर्ने उल्लेख गरेको छ ।

उप–महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका घर, पसल, ग्यारेज, गोदाम, टहरा,कारखाना, जग्गा, पोखरी बहालमा दिएमा सम्बन्धीत धनीबाट बहाल रकमको १० प्रतिशत लिने, विभिन्न व्यापारिक वस्तु, विज्ञापन परामर्श तथा अन्य व्यवसायीक सेवा शुल्क, निर्माण व्यवसाय, उत्पादनमुलक उद्योग, उर्जामुलक उद्योग, कृषि तथा वनजन्य उद्योग, खनीज उद्योग, पर्यटन उद्योग, सेवा उद्योग, शिक्षा सेवा, वित्तिय सेवा, स्वास्थ्य सेवा आदीको आधारमा व्यवसाय कर तोकेको छ । यस्तै उप–महानगरपालिकाले नगरबासीबाट मासिक सरसफाई सेवा शुल्क बाफत प्रती घरधुरीबाट ५०, साना व्यापारीबाट ५०, ठुला व्यापारीबाट एक सय, अस्पतालबाट एक हजार, होस्टेलबाट २ सय ५० , शिक्षण संस्थाबाट एक सय र अन्य कार्यालयबाट ३० रुपैया लिनेछ ।

उप–महानगरपालिकाले मनोरञ्जन करको दायरा समेत बढाएको छ । कन्सर्ट, नाटकघर, भिडियो घर, चलचित्र प्रदर्शन, थिएटर, स्वीमिङ पुल, पार्क, मेला, महोत्सव, सांस्कृतिक प्रदर्शन कार्यक्रम, खेलकुद प्रतियोगितामा प्रतिटिकटको मूल्यमा ५ प्रतिशत कर लाग्ने भएको छ । दैनिक उपभोग्यका समानमा समेत करको दर बृद्धि भएको छ । उप–महानगरपालिकाले धानको भुसादेखी खसिबाख्रामा समेत कर लगाएको छ । कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा सेवा शुल्क शिर्षकमा माछामा प्रतिकेजी २० रुपैया, खसि, भेडा , बाख्रा , सुगुर र राँगामा प्रति गोटा २ सय, प्रतिगोटा कुखुरामा २० र तरकारी तथा फलफूल जन्य पदार्थको प्रतिक्वीन्टलमा १५ रुपैया कर तोकेको छ । यस्तै खाद्यान्न अन्र्तगत धान र गँहुको प्रतिक्वीन्टल ६÷६ रुपैया, चामल प्रति क्वीन्टल ८ देखी ९ रुपैया, विभिन्न दालमा ७ देखी ९ रुपैया, कर तोकिदा धानको भुसा प्रती ट्रकमा ७ सय, प्रती ट्याक्टर ४ चक्के साढे ४ सय र २ चक्के ३ सय रुपैया शुल्क लाग्नेछ ।    

 

कमेन्ट लोड गर्नुस