सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व राष्ट्रपतिविरुद्ध भ्रष्टाचारबारेको छानबिन

२०७५ भदौ ५, ०८:१४

  भ्रष्टाचार र राज्यकोषको दुरूपयोग गरेको आरोपमा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाविरुद्ध राजधानी जोहानेसबर्गमा छानबिन सुरु भएको छ।
उक्त भ्रष्टाचार प्रकरण 'राज्य कब्जा' को रुपमा चर्चित बनेको छ। त्यसमा मुछिएका गुप्ता परिवारमाथि पनि मन्त्री छनोटसहितका राजनीतिक निर्णयलाई प्रभावित तुल्याउन खोजेको आरोप लगाइएको छ।
पूर्वराष्ट्रपति र गुप्ता परिवारले कुनै पनि गलत काम नगरेको भन्दै आरोपहरू अस्वीकार गरेका छन्। तर पूर्वअर्थमन्त्री प्रवीण गोर्धनले भ्रष्ट कामकारवाहीबाट राज्यकोषको सात अर्ब डलर हिनामिना गरेको अनुमान गरेका छन्।
छानबिन टोलीका प्रमुख तथा उप-प्रधानन्यायाधीश रेय जोण्डोले दक्षिण अफ्रिकी नागरिकलाई आफूले थाहा भएको कुरा जानकारी दिन आग्रह गरे।
उनले भने, "यो देशलाई माया गर्ने सबै दक्षिण अफ्रिकी नागरिकलाई हामी अगाडि आउन र आयोगलाई समस्या समाधानको निम्ति सघाउन आग्रह गर्छौं।"
दक्षिण अफ्रिकाको भ्रष्टाचारविरूद्धको एक निकायको प्रतिवेदनपछि गत डिसेम्बर महिनामा उच्च अदालतले जुमालाई आयोग गठन गर्न निर्देशन दिएको थियो।
जुमाको राजीनामा माग गर्दै देशभरि प्रदर्शनहरु भएका थिए
प्रतिवेदनले 'राज्य कब्जा' नाम दिँदै जुमाको सरकारको उच्च तहमा सम्भावित भ्रष्टाचारका प्रमाणहरू फेला पारेको छ।
त्यसक्रममा जुमाको मन्त्रिपरिषद्‌का सदस्यको छनोटमा गुप्ता परिवारको प्रभाव रहेको वा नरहेकोबारे अनुसन्धान गरिएको थियो।
उक्त निकायले गुप्ता परिवारले सरकारी स्वामित्वको विद्युत कम्पनीको ठेक्का पाउन सरकारी अधिकारीहरूलाई घुस दिएको भन्ने दाबीबारे पनि अनुसन्धान गरेको बताइएको छ।
गुप्ता परिवारले भने गत वर्ष संचार माध्यमले बेकारका आरोपहरू लगाएको भन्दै जवाफ दिनुपर्ने कुनै मुद्दा नरहेको बताएका थिए।
छानबिनमा संलग्न टोलीसँग अभियोजन लगाउने कुनै अख्तियारी छैन, तर उसले जुटाउने प्रमाण भाविष्यमा हुने अभियोजन प्रक्रियामा प्रयोग हुनसक्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस